Wednesday, August 11, 2010

गिरिजाबाबु खै तपाईंको त्याग ?

नेपाली राजनीतिमा सधै खड्किएको एउटै कुरो हो - त्याग । केही गणेशमान जस्ता अपवादलाई छाड्ने हो भने सधै अप्ठ्यारा अवस्थामा नेताहरुमा पर्याप्त त्यागको कमी देखिएको छ । विषेशगरी प्रजातन्त्र पुनः स्थापना पश्चातका १२ वर्षे कालमा त झन त्यागको नामो निसान देखिएन । निस्वार्थ राजनीति त्याग र निष्ठामा अडेको हुन्छ नकी व्यक्तिगत स्वार्थ र पद लिप्सामा । यो कुरा राजनीतिगर्नेलाई हामीले सिकाउने कुरा होइन तर दूर्भाग्यसाथ भन्नु पर्छ हाम्रा नेताले कहिले पनि त्यागको पर्याप्त उदाहरण दिन सकेनन् जसको फलस्वरुप नेपाल र नेपालीले चर्को मूल्य चुकाउनु परीरहेको छ । विषेशगरी पाँच-पाँच पटक प्रधानमन्त्रीको जिम्म्ोवारी पाएका नेपाली काँगे्रसका नेता श्री गिरीजा प्रसाद कोइराला यस्तै त्याग अनि निष्ठा प्रदर्शन गर्न असर्मथ नेता मध्ये अग्रणी हुनुहुन्छ भन्नमा एक प्रजातन्त्र प्रेमी नेपालीलाई कुनै अप्ठ्यारो छैन । हो उहाँले आफ्नो सम्पूर्ण जीवन नेपाल र नेपालीकै प्रजातन्त्र प्राप्तीमा समर्पित गर्नुभयो । जेल नेल दुःख कष्ट को परवाह नगरी प्रजातन्त्रका लडाकु झैं जीवन पर्यन्त नेतृत्व गर्नुभयो तर दुःख साथ भन्नु पर्छ जब जब नेपाल र नेपालीले उहाँको त्याग खोजे उहाँ त्याग देखाउन सधै असमर्थ हुनुभयो । यसका पर्याप्त उदाहरणहरु छन् । चाहे त्यो गणेशमान जस्ता सर्वमान्य नेता जीवनको उत्तार्धमा नेपाली काँग्रेसमा नअटाउने अवस्था होस या ०५६ को आमनिर्वाचन बाट आफैं द्वारा अगाडि सारिएका निर्वाचित प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई लाई आफैले विस्थापित गर्ने स्थिति या आफ्नै कार्यकर्ता शेर बहादुर खुम बहादुर जस्ता लाई पार्टीमा समेटन नसकी एमालेको विभाजनकॊ पीडा अवगत हुँदा हुँदै पनि अन्ततः पार्टी विभाजित भएको स्थिति जस्ता तीता यथार्थमा गिरीजाबाबुको हठी अदूरदर्शीता र परिवार केन्द्रीत राजनीतिक प्रवृत्ति हावी हुनु हो नकी उनको दूरदर्शी त्यग एवंम निष्ठावान नेतृत्व ।
के प्रजनतन्त्र प्रेमी नेपालीले उनमा त्याग रुपी राजनीतिको अपेक्षा गर्नु भूल हो
होइन भने जन-आन्दोलन २०६३ को परिणाम स्वरुप प्रप्त दूर्लभ यो परिवेशले गिरिजाबावु लाई फेरी एक पल्ट आफ्नो त्यग एवंम निष्ठा प्रमाणित गर्ने मौका दिएको छ । यो सम्भवतः जीवनको अन्तिम मौकालाई पनि उहाँले सदुपयोग गर्न सक्नुभएन भने उहाँले यस्तो मौका अव कहिल्यै नपाउने मात्र होइन इतिहाँसले समेत उहाँलाई धिक्कारने छ । यो उहाँको संसद पुनःस्थापना सम्वन्धी व्यक्तिगत अडानको विजय मात्र नभई सारा राजनीतिक दल एक भएको स्वर्णिम परिवेशमा उहाँले कुन मन्त्री कसलाई दिने कुन पदमा कसलाई छान्ने जस्ता तुच्छ मुद्दामा अल्झीने समय होइन सबैलाई समेट्दै राष्ट्रका तमाम अहंम मुद्दामा प्रवेश गरी निर्भिकताका साथ जन-पक्षीय निर्णय लिई जनताले उहाँ सामु प्रकट गरेको विश्वास लाई मुर्त रुप दिने समय पनि हो । उहाँका यी पछिल्ला दिनहरुका गतिविधि देखि जनत ससंकित छन् । प्रधानमन्त्री पद सर्वसम्मत भएको एक हप्ता विति सक्दा पनि मन्त्री माडलले पूर्णता पाएको छैन अनि उहाँका प्रमुख कार्यसूचीहरु समेत सार्वजनिक हुन सकेका छैनन् । सारा अन्तर्राष्ट्रिय समुदाय नागरीक समाज र माओवादी समेतले एक टक लाएर उहाँंका गगिविधि हेरीरहेको परिप्रेक्ष्यमा उहाँका क्षण भरका विलम्व पनि अक्षम्य छन् ।
गिरीजाबबु समय चिन्नुहोस समयले फेरी पनि तपाईंको त्याग खोजी रहेको छ तपाईंको कठोर जाँच लिइरहेको छ !
- प्रज्ज्वल बराल
भुवनेश्वरी-१ सिन्धुली
मध्यपुर ठिमी -१५ सागबारी कौशलटार भक्तपुर हाल
May, 2006
[ I had written this article in 2006 when I was in Nepal and it was published on The Kantipur National Daily as well.]

No comments:

Post a Comment